राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अहबर अन्सारीले धर्म, जात र समुदायका नाममा समाजलाई विभाजन गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाल ऐतिहासिक रूपमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र विविधताको सम्मान गर्ने देश भएकाले धार्मिक वा जातीय द्वेष फैलाउने गतिविधिप्रति राज्य गम्भीर बन्नुपर्ने बताए।
सांसद अन्सारीले नेपालमा हिन्दु, मुस्लिम, बौद्ध, क्रिश्चियनलगायत विभिन्न धर्म र समुदायका नागरिक आपसी सद्भावका साथ बस्दै आएको उल्लेख गर्दै धार्मिक नाराको दुरुपयोग गरेर एक समुदायलाई अर्को समुदायविरुद्ध उक्साउने गतिविधि तत्काल रोक्न सरकारसँग आग्रह गरे।
उनले विश्वका विभिन्न मुलुकमा समुदायबीच घृणा फैलिँदा मानवअधिकारमाथि असर परेको उदाहरण दिँदै मधेशलाई पनि द्वन्द्व र साम्प्रदायिक तनावतर्फ धकेल्ने प्रयास भइरहेको बताए । राजनीतिक स्वार्थ पूरा गर्न धार्मिक तथा जातीय विभाजनको वातावरण सिर्जना गर्ने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने उनको माग थियो।
सांसद अन्सारीले साम्प्रदायिक हिंसा गोली चलाएर मात्र सुरु नहुने उल्लेख गर्दै घृणात्मक अभिव्यक्ति, सामाजिक सञ्जाल, सञ्चारमाध्यम र सार्वजनिक मञ्चबाट फैलाइने द्वेषपूर्ण प्रचार नै हिंसाको प्रारम्भिक आधार बन्न सक्ने चेतावनी दिए। उनले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरे।
रोहिंग्या वा बंगलादेशीको विषयलाई लिएर समाजमा डर, त्रास र भ्रम सिर्जना गर्ने प्रयास पनि स्वीकार्य नहुने उनको भनाइ थियो। उनले यस्ता संवेदनशील विषयमा राज्यले निष्पक्ष, तथ्यमा आधारित र सूक्ष्म अनुसन्धान गरेर मात्रै आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया