नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले सुनसरीको देवानगञ्ज घटनापछि उत्पन्न परिस्थितिमा सरकार समाधानतर्फ अग्रसर हुन नसकेको बताएका छन् । उनले संकटका बेला सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्ने बताएका छन्।

बुधबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा बोल्दै प्रचण्डले सुनसरीमा सबै पक्षलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह समेत गरे।

दाहालले भने, ‘ सुनसरीमा देखिएको तनावप्रति हामी गम्भीर चिन्ता व्यक्त गर्दछौँ। यस्तो संवेदनशील समयमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्छ।’

उनले विगतमा जटिल परिस्थितिमा राजनीतिक दलहरूले राष्ट्रिय सहमति र एकताको उदाहरण प्रस्तुत गरेको र अहिले पनि त्यही राजनीतिक परिपक्वता आवश्यक रहेको बताए।

उनले भने, ‘विगतमा भूकम्प, बाढी–पहिरोजस्ता विपद्का बेला होस् वा संविधान निर्माणजस्तो जटिल प्रक्रियामा, हामीले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेका थियौँ। आज पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारीको आवश्यकता छ।’

उनले राष्ट्रिय महत्त्वका संवेदनशील विषयमा सरकार साझा समाधानतर्फ प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै प्रश्न उठाए।

‘यस्तो अवस्थामा सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्छ। प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्छ। संसद्भित्र पनि सरकारको प्रस्तुति अपेक्षाअनुसार प्रभावकारी देखिएको छैन।’ उनले भने।