देशका विभिन्न स्थानमा पछिल्लो समय देखिएका द्वन्द्व र सामाजिक तनावप्रति चिन्ता व्यक्त गर्दै नागरिक अगुवाहरूले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा ‘नागरिक अपिल तथा ऐक्यबद्धता र्‍याली’ आयोजना गरेका छन्।

शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले निकालिएको र्‍यालीमार्फत विशेषगरी तराई–मधेश क्षेत्रमा देखिएको अशान्ति नियन्त्रण गर्न, धार्मिक तथा साम्प्रदायिक वैमनस्य फैलिन नदिन र आपसी सहिष्णुता कायम राख्न सार्वजनिक अपिल गरिएको हो।

र्‍यालीका सहभागीहरूले ‘एक नेपाली, साझा जिम्मेवारी’, ‘सबैको सम्मान, सबैको सुरक्षा, सबैको नेपाल’, ‘विविधतामा एकता, एकतामा शक्ति’ लगायतका सद्भाव, सहअस्तित्व र राष्ट्रिय एकताका सन्देश बोकेका दर्जनौं प्लेकार्ड प्रदर्शन गरेका थिए।

कार्यक्रममा समाजका विभिन्न क्षेत्रका नागरिक अगुवा, बुद्धिजीवी तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले हिंसा, विभाजन र घृणाको राजनीति अस्वीकार गर्दै संवाद, सहिष्णुता र आपसी विश्वासमार्फत सामाजिक सद्भाव सुदृढ बनाउन सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।