नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा नेपाली कांग्रेसले तीन दिन शोक मनाउने निर्णय गरेको छ। ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार श्रेष्ठको निधन भएपछि बुधबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले तीन दिन शोक मनाउने निर्णय गरेको हो।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार साउन १३, १४ र १५ गतेसम्म कांग्रेसको केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाइनेछ। साथै, साउन १४ गते बिहीबार केन्द्र, प्रदेश र जिल्लाका सबै पार्टी कार्यालय बन्द रहनेछन्।
त्यस्तै, श्रेष्ठको निधनको १३ दिनसम्म पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने तथा १३औँ दिन उनको गृह जिल्ला स्याङ्जामा शोकसभा आयोजना गर्ने निर्णय पनि गरिएको छ। कांग्रेसले श्रेष्ठको निधनलाई पार्टी र राष्ट्रका लागि अपूरणीय क्षति भएको जनाएको छ।
वि सं २००४ असार ३१ गते स्याङ्जामा जन्मिएका श्रेष्ठ विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय थिए। लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका विभिन्न आन्दोलनमा सहभागी भएका उनी तत्कालीन नेपाली कांग्रेसका कार्यवाहक सभापति समेत बनेका थिए। उनी ऐतिहासिक १२ बुँदे सहमतिका हस्ताक्षरकर्तामध्ये एक थिए।


प्रतिक्रिया