बलिउड अभिनेता सलमान खानसँग जोडिएको भनिएको फिल्म ‘काला हिरणः द ब्याटल फर लिगेसी’ को टिजर सामाजिक सञ्जालबाट हटाउन दिल्ली उच्च अदालतले आदेश दिएको छ। खानले फिल्मको टिजरले आफ्नो छवि र व्यक्तित्व अधिकारमा असर पुर्याएको दाबी गर्दै दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो।
अदालतले एक्स (ट्विटर) र युट्युबलगायत सामाजिक सञ्जालमा उपलब्ध टिजर तथा त्यससँग सम्बन्धित सामग्री हटाउन निर्देशन दिएको छ। सुनुवाइका क्रममा अदालतले फिल्मका निर्माता अमित जानीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै कानुनभन्दा माथि रहेजस्तो व्यवहार नगर्न चेतावनीसमेत दिएको छ।
यो फिल्म सन् १९९८ को चर्चित कालो हरिण शिकार प्रकरणबाट प्रेरित भएको बताइएको छ। टिजर सार्वजनिक भएपछि सलमान खानले त्यसमा आफ्नो व्यक्तित्वलाई लक्षित गरिएको, जसले सार्वजनिक छविमा नकारात्मक असर पार्ने भन्दै अदालतको ढोका ढकढकाएका थिए।
निर्माता पक्षका वकिलले भने टिजरमा सलमान खानको नाम उल्लेख नगरिएको र कुनै डीपफेक वा कृत्रिम बौद्धिकता ९एआई० प्रयोग नगरिएकाले व्यक्तित्व अधिकार उल्लङ्घन नभएको तर्क गरेका छन्। उनका अनुसार फिल्म कुनै एक व्यक्तिलाई लक्षित गरेर निर्माण गरिएको होइन।
तर सलमान पक्षले नाम उल्लेख नभए पनि पात्रको स्वरूप, कथावस्तु र प्रस्तुतीकरणबाट अभिनेता सलमान खानलाई सहजै चिनाउन सकिने जिकिर गरेको छ। उनका वकिलले कालो हरिण शिकार प्रकरणका अधिकांश मुद्दामा सलमानले सफाइ पाइसकेको र बाँकी मुद्दामा सजाय कार्यान्वयन रोकिएको अवस्थामा पुरानो विवादलाई पुनः उचाल्ने प्रयास गरिएको दाबी गरेका छन्। साथै, फिल्मले विश्नोई समुदायलाई सलमान खानविरुद्ध उक्साउन सक्ने आशंकासमेत व्यक्त गरिएको छ।
यसअघि सार्वजनिक गरिएको पोस्टरमा मुख्य कलाकार काशिफ इकबाल खानको स्वरूप सलमान खानसँग मिल्दोजुल्दो देखिएपछि विवाद सुरु भएको थियो। त्यसपछि आएको टिजरमा कालो हरिण शिकार प्रकरण र ग्याङ्स्टर लरेन्स विश्नोईबाट प्रेरित पात्र देखाइएको तथा फिल्म विश्नोई समुदायलाई समर्पित गरिएको उल्लेख भएपछि विवाद थप चर्किएको थियो।
अदालतमा यस मुद्दाको थप सुनुवाइ जारी रहेको छ।

प्रतिक्रिया