काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित सडकखण्डमा सोमबार बिहान स्कुटर र मिनी ट्रक एक आपसमा ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ।
सोमबार बिहान २:५८ बजे सतुंगलबाट कलंकीतर्फ आउँदै गरेको बा.प्र.०२-०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशातर्फ आउँदै गरेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका स्कुटर चालक र पछाडि सवार महिलालाई तत्काल उद्धार गरी कलंकीस्थित शहीद मेमोरियल अस्पताल पुर्याइएको थियो। दुवैको अवस्था गम्भीर भएपछि थप उपचारका लागि बी एण्ड बी अस्पताल, ग्वार्को, ललितपुर रिफर गरिएको थियो।
दुर्घटनामा काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२ हरियाली बस्ने ४० वर्षीय दीपक नेपालको उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
यस्तै, स्कुटरको पछाडि सवार काठमाडौंको चन्द्रागिरि नगरपालिका-१४ बस्ने ५६ वर्षीया शुभद्राकुमारी नेपाललाई बिहान ७:०५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनापछि स्कुटर ट्राफिक प्रहरी प्रभाग कलंकीको नियन्त्रणमा रहेको छ भने मिनी ट्रक र चालकलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया