‘कथा यात्रा समूह’ ले ‘आख्यान मञ्जिरा’ कार्यक्रमअन्तर्गत कथाकार रमेशजङ्ग थापाकाे कथासङ्ग्रह ‘कामरेडको घोडा’ को समीक्षात्मक बहस गरेको छ।
समसामयिक कथा कृतिहरूमाथि समीक्षात्मक बहस गर्ने उद्धेश्यले ‘कथा यात्रा समूह’ द्वारा स्थापित “आख्यान मञ्जिरा” कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम भएकाे हाे।
रमेश विकल साहित्य प्रतिष्ठानको सहकार्यमा प्रतिष्ठानको आरुबारीस्थित कार्यालयको सभाहलमा आयोजित उक्त कार्यक्रममा कथा यात्रा समूहमा आवद्ध विभिन्न कथा सर्जकहरूले उक्त कथा सङ्ग्रहमा समेटिएका विभिन्न कथाहरूमाथि आफ्नो समीक्षात्मक धारणा राखेका थिए।
मन्तव्य दिने क्रममा कथाकार कुमार काफ्लेले कथासङ्ग्रहमा सङ्ग्रहित तेस्रो कथा ‘एक अपेक्षित इतिहासपात्र’ माथि चर्चा गरेका थिए। पूर्वीय दर्शनअन्तर्गतको चार्वाक चिन्तनलाई मूल विषयवस्तुको रूपमा चयन गरेर सिर्जना गरिएको यस कथाबारे उनले दार्शनिक रूपमै विवेचना प्रस्तुत गरेका थिए।
कथासङ्ग्रहको चौथो कथा “ह नि रा ज्ञा वा द” रोजेका हरिश कल्पितले उक्त कथामा द्वन्दकालको बेला सामान्य भुइँ मान्छेले भोग्नुपरेका पीडा र व्यथाहरू विषयवस्तुका रूपमा उठाइएको बताए। सो क्रममा उनले कथामा वर्णित पात्रले तत्कालीन समयमा राज्य पक्ष र विद्रोही दुवै पक्षबाट भोग्नुपरेका विभिन्न अवसादजन्य घटनाहरू आफैंले भोगे सरह मार्मिक ढङ्गले कथामा उतार्न सक्ने कथाकार थापाको क्षमताको विशेष तारिफ गरेका थिए।
कार्यक्रमका अर्का वक्ता दीपक लोहनीले “कामरेडको घोडा” माथि आफ्नो समीक्षात्मक दृष्टिकोण राखेका थिए। कथासङ्ग्रहको शीर्षक विषय पनि रहेको यस कथा उक्त सङ्ग्रहमा समेटिएको बाऱ्हौं कथा हो।
घोडालाई विम्बका रूपमा प्रयोग गरी यस अघि पनि विभिन्न स्रष्टाहरूले कथा सिर्जना गरेको भए पनि थापाले भने प्रस्तुत कथामा घोडालाई पृथक् विम्बको रूपमा प्रस्तुत गरेका उनको भनाइ थियो।प्राय: कथाकारहरूले घोडालाई यौन मनोविज्ञान, वासना, दमित इच्छा जस्ता परम्परागत विम्बका रूपमा उतार्ने गरेका भए पनि प्रस्तुत कथामा भने कथाकारले घोडालाई स्खलित समाजवादको विम्बका रूपमा प्रस्तुत गर्न खोजेको उनको निष्कर्ष थियो।
उन्नाइसौँ कथाका रूपमा समेटिएको “हाम्रो बा हुन्नन…”शीर्षकको कथामा कथाकार डा.पवित्रा अधिकारीले आफ्नो मन्तव्य राखेकी थिइन्। उक्त कथामा चयन भएका मूल पात्रभन्दा गौण पात्रले खेलेको भूमिकाले नै कथालाई थप शक्तिशाली बनाएको उनको ठहर थियो।
अर्का समीक्षक विश्व कुइँकेलले छब्बीसौं कथा “सेराव ग्यामसो” माथि परिचर्चा गरे। तिब्बती विषयवस्तुलाई समेटेर रचना गरिएको यस कथाले बौद्ध संस्कृति, मान्यता र आयामहरू उजागर गर्दै विगतमा तिब्बतमा त्यहाँका बौद्ध धर्मगुरुहरूलाई दिइएको यतनाहरूबारे जानकारी पाइने उनको भनाइ थियो।
अर्का समीक्षक प्रमोद प्याकुरेलले बाइसौं कथा “काट्टो” माथि आफ्नो मन्तव्य राखेका थिए। नेपाली समाजमा “काट्टो” शब्द अमर्यादित, अपमानजनक रूपमा प्रयोग गर्ने गरिएको प्रसङ्ग उठाउँदै उनले प्रस्तुत कथा तत्कालीन राजदरबारमा राजाको निधन हुँदा ग्रहण गरिने काट्टोको विषयवस्तुलाई लिएर रचना गरिएको बताए।
नेपाली समाजमा आर्थिक अभावमा पिल्सिएर काट्टो खान बाध्य गरीब ब्राह्मणको निरीह अवस्थाप्रति समाजले हेर्ने अनुचित दृष्टिकोणबारे कथाले बोलेको उनको धारणा थियो। तत्कालीन समयमा राजाको निधन हुँदा राज्यले नै काट्टो खान प्रेरित गर्ने गरेको तर पछि त्यसलाई कार्यान्वयन गर्ने क्रममा भने पन्छिन खोज्ने प्रवित्तिबाट समाजमा भने काट्टो ग्रहण गर्ने गरीब ब्राह्मण बद्नाम हुनुपरेको कटु यथार्थ कथामा मार्मिक ढङ्गले आएको उनको भनाइ थियो।
अर्का वक्ता एवं कथाकारका अन्तरङ्ग मित्र माधव लोहनीले कथाकार थापाको व्यक्तित्व र “कामरेडको घोडा” कथा सङ्ग्रहको समग्र टिप्पणी गरेका थिए।
स्रष्टा दीपक लोहनीद्वारा सञ्चालित उक्त कार्यक्रममा सहआयोजक संस्था रमेश विकल साहित्य प्रतिष्ठानका तर्फबाट सचिव आलोक चालिसेले मन्तव्य राखेका थिए। सो क्रममा उनले प्रतिष्ठानका विविध गतिविधिबारे प्रकाश पार्दै विकल साहित्य संग्रहालय अवलोकनार्थ शनिबारबाहेक प्रत्येक दिन बिहान ११ बजेदेखि ३ बजे सम्म कार्यालय खुला रहने जानकारी दिएका थिए।

प्रतिक्रिया