देशभर भइरहेको लगातारको वर्षाका कारण बीपी राजमार्ग र कान्ति लोकपथसहित देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार राति ९:०० बजेसम्म सुरक्षा सतर्कता र पहिरोका कारण सवारीसाधन आवतजावतमा रोक लगाइएको छ।
बीपी राजमार्गअन्तर्गत काभ्रे र सिन्धुली खण्डको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी क्षेत्रमा बाढीको जोखिमलाई मध्यनजर गर्दै बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ। तर बिहान ४:०० बजेदेखि बेलुका ६:०० बजेसम्म भने सवारीसाधन सुचारु हुनेछन्।
यस्तै, मकवानपुरस्थित कान्ति लोकपथमा पनि वर्षाका कारण रातिको समयमा सबै किसिमका सवारीसाधन चलाउन रोक लगाइएको छ जहाँ बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारीसाधन आवतजावतमा रोक लगाइएको छ।
इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण सडक हिलो भएर सवारीसाधन चल्न नसकेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ, यद्यपि उक्त स्थानमा वैकल्पिक बाटो भने प्रयोग गर्न सकिनेछ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ जिरोकिलो र वडा नम्बर २ कोदारीको इकु पहिरोमा माथिबाट पहिरो तथा लेदो खसेका कारण अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।
दोलखाको तामाकोशी गाउँपालिका-५ किर्नेटारमा खोलाले कटान गरेपछि लामासाघु-रामेछाप राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ र हाल खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको कार्यालय परिसरबाट वैकल्पिक बाटो खुलाइएको छ।
रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा त्रिशूली नदीले सडक मुनिबाट कटान गरेका कारण पासाङ ल्हामु सडक खण्डको कच्ची सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
मुगुको छायानाथ रारा नगरपालिका-७ झ्यारी खोलामा माथिबाट ढुंगासहितको पहिरो खस्दा नाग्म-गमगडी सडक खण्ड पूर्ण रूपमा अवरोध भएको छ।
त्यसैगरी, रोल्पाको परिवर्तन गाउँपालिका-१ खोलावाङस्थित घोराही-थवाङ सहिद राजमार्गमा माथिबाट सुक्खा पहिरो आएका कारण सहिद राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रतिक्रिया