भाद्र ९, काठमाडाैं- विश्व हिन्दु परिषद्‌ नेपालले नयाँ नेतृत्वको चयन गरेको छ। संसार भरिका हिन्दुहरु तथा हिन्दु धर्म संस्कृतिको रक्षा, सम्वर्धन र प्रवर्धन गर्दै आएको भारतमा मुख्यालय रहेको विश्व हिन्दू परिषद्‌को यो नेपाल च्याप्टर रहेको छ।

शनिबार काठमाडौं आयोजित सम्मेलनबाट परिषद्‌को राष्ट्रि‌य अध्यक्षमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारी तथा कार्यकारी अध्यक्षमा पूर्वराजदूत भगिरथ बस्नेतलाई चयन गरिएको छ। उपाध्यक्षमा जनकपुरका रघुनाथप्रसाद शाहलाई चयन गरिएको छ।

पहिलो पटक परिषद्‌मा दुई जाना अध्यक्षको व्यवस्था गरिएको छ। विश्व हिन्दु परिषद्‌ नेपालको सचिवमा प्रल्हाद रेग्मी र महासचिवमा जितेन्द्र सिंहलाई निरन्तरता दिइएको छ।

नवनियुक्त राष्ट्रिय अध्यक्ष पुरुषोत्तम भण्डारीले हिन्दु धर्ममाथि चाैतर्फी प्रहार भइरहेको चुनौती पूर्ण समयमा आफूले कार्यभार लिएको तथा मुख्य चुनौती धर्म परिवर्तन र नेपाली युवा विदेश पलायनको क्रमलाई रोक्न दत्तचित्त भएर काम गर्ने बताए। अहिलेको समयमा नैतिक शिक्षाको आवश्यकता रहेकोले यसलाई पुनः विद्यार्थी माझ लैजानु पर्नेमा जोड दिए।

यसैगरी हिन्दु स्वयंसेवक संघ नेपालका अध्यक्ष कल्याण तिमिल्सिनाले नेपालीहरु व्यक्तिगत र स्वार्थी हुँदै गएको तथा हिन्दु धर्म संस्कृतिप्रति खासै मतलब नभएको भन्दै चिन्ता व्यक्त गरे। हिन्दुहरु संगठित नभए हाम्रो धर्म र संस्कृति लोप भएर जाने भएकाले यसमा संवेदन‌शील रहन आग्रह गरे।

कार्यक्रममा विश्व हिन्दू परिषद्‌का अन्तर्राष्ट्रिय महामन्त्री मिलिन्द पराण्डेको पनि उपस्थित थियो।