पेट्रोलियम ढुवानी व्यवसायीले आयल निगतसँगको वार्ता पछि आन्दोलन स्थगित गरेका छन् । माग पूरा गर्न नेपाल आयल निगम सहमत भएको कारण ढुवानी व्यवसायीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।


व्यवसायीको आन्दोलनका कारण शनिबार काठमाडौंका पेट्रोल पम्पहरुमा उपभोक्ताको लामो लाइन लागेको थियो ।

नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार भएको वार्तामा सहमति भएपछि व्यवसायी र नेपाल आयल निगमले चार बुँदे संयुक्त विज्ञप्ति जारी गरेका हुन।

व्यवसायीको मागमध्ये पेट्रोलियम बिक्रेता कमिसन र एलपी ग्यासको ढुवानी भाडा समायोजनको मागबारे सात दिनभित्र उचित निष्कर्ष निकाल्ने तथा पेट्रोलियम कारोबारसँग सम्बन्धित अन्य मागका सम्बन्ध्मा १५ जेठसम्ममा पूरा गर्ने गरी काम गर्ने सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।

आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन, नेपाल एलपी ग्याँस उद्योग संघ र नेपाल पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघले सबै विरोधका कार्यक्रम फिर्ता लिएका छन् र उनीहरुले पेट्रोलियम पदार्थ र एलपी ग्याँसको ढुवानी र बिक्री वितरण यथावत सञ्चालन गर्ने भएका छन् ।

संयुक्त प्रेस विज्ञप्तिमा नेपाल पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका प्रवक्ता विश्व अर्याल र नेपाल आयल निगमका तर्फबाट प्रवक्ता विनितमणि उपाध्यायले हस्ताक्षर गरेका छन् । निगमका सबै डिपो कार्यालयहरू आइतबार (भोलि) बिहान ८ः०० बजेदेखि नै सञ्चालन गरिनेलगायत निर्णय भएको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।