असोज ११ काठमाडौं- बुद्धभुमि नेपाल हाइड्रोपावर (BNHCL) ले आज सोमबार (असोज ११ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो।

सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ७ लाख ४४ हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको छ। स्थानियलाई ४ करोड रुपैयाँ र सर्वसाधारणलाई ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ पुग्नेछ।

आईपीओमा कसरी दिने आवेदन?

कम्पनीले निष्काशन गेरको शेयरमा असोज १४ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे असोज २५ गतेसम्म म्याद थप हुनेछ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता प्रभु क्यापिटल लिमिटेड रहेको छ।

मध्यम जोखिम जनाउने रेटिङ्ग

कम्पनीले निष्काशन गरेको आईपीओलाई इक्रा नेपालले इक्राएनपि आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनी वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।

इक्रा नेपालले कम्पनीको आईपीओलाई सन् २०२० अगष्ट २४ तारिखमा रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। उक्त रेटिङ्गको अवधि जारी भएको मितिबाट एक वर्षसम्म रहन्छ। 

कस्तो कम्पनी हो?

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम २०७४ साउन ३१ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई २०७४ साउन ३२ गते पब्लिक लिमिटेडको रुपमा दर्ता भएको हो।

कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौं महानगरपालिका वडा नम्बर ३, पानी पोखरी महाराजगञ्जमा रहेको छ । कम्पनीको आयोजना स्थल, जलविद्युत उत्पादन केन्द्र तथा अन्य भौतिक पुर्वाधारहरु भने नुवाकोट जिल्लाको दुप्चेश्वर गाँउपालिकाका (साबिकका समुन्द्रटार, कुन्दरादेवी, बालकुमारी र थाप्रेक गा.वि.स) मा रहेको छ।

कम्पनीले ४.९९३ मेगावाट क्षमताको तल्लो ताँदी खोला जलविद्युत आयोजनाको विकास निर्माण गरिरहेको छ।

आयोजनाको कुल लागत ११ अर्ब ८६ करोड रुपैयाँ र प्रतिमेगाबाट लागत २३.८ करोड रुपैयाँ लाग्ने कम्पनीको प्रक्षेपण छ।

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको ३० प्रतिशत अर्थात १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता (स्थानिय बासिन्दालाई ४ लाख कित्ता सहित) शेयर निष्काशनमा ल्याएको छ।

आईपीओ निष्काशन गरेर संकलन भएको पूँजी आयोजनाको कर्जा आँशिक भुक्तानीमा प्रयोग हुने कम्पनीले जनाएको छ।

हाल विभिन्न बैंकमा ७७ करोड ३४ लाख ९९ हजार रुपैयाँ ऋण रहेको कम्पनीले जनाएको छ। आईपीओ वितरण गरेर प्राप्त भएको रकम उक्त ऋणको आंशिक भुक्तानी गर्नेछ।

तीन वर्षमा सञ्चित नाफा ८ करोड पुर्याउने

कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्ममा सञ्चित नाफा ८ करोड ३० लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्ष २०७७/७८ को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी ३ करोड ६८ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो।

यस्तै, चालु आर्थिक वर्ष २०७८/७९ मा ६ करोड ४९ लाख रुपैयाँ, आर्थिक वर्ष २०७९/८० मा ७ करोड ३९ लाख रुपैयाँ नाफा कमाउने कम्पनीको प्रक्षेपण छ।

आर्थिक वर्ष २०८०/८१ सम्ममा प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ५२ पैसा र प्रतिशेयर आम्दानी २० रुपैयाँ ७५ पैसा पुग्ने कम्पनीले प्रक्षेपण गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ७१ रुपैयाँ ४९ पैसा र प्रतिशेयर आम्दानी १६ रुपैयाँ २३ पैसा रहेको छ।

आयोजनाको कुल लागत ११ अर्ब ८६ करोड रुपैयाँ र प्रतिमेगाबाट लागत २३.८ करोड रुपैयाँ लाग्ने कम्पनीको प्रक्षेपण छ।

साधारणतर्फ लगानी फिर्ता हुने अवधि ५.४९ वर्ष रहेको छ भने डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि ८.५८ वर्ष रहेको छ।

पूँजी संरचना

हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको छ। स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ पुग्नेछ।

कम्पनीको अधिकृत पूँजी र जारी पूँजी दुबै ४० करोड रुपैयाँ रहेको छ।

आईपीओ निष्काशनपछि कम्पनी शेयर स्वामित्व संस्थापककाे ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत कायम हुनेछ।

सञ्चालक समिति

कम्पनीको सञ्चालक समितिमा ७ जना रहने व्यवस्था रहेको छ। संस्थापक शेयरधनीको तर्फबाट ४ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना र एक जना स्वतन्त्र गरी ७ को सञ्चालक समिति रहने व्यवस्था छ। सञ्चालकहरुको कार्यकाल ४ वर्षको हुनेछ।

कम्पनी सञ्चालक समितिको अध्यक्षमा १५ वर्षको व्यापारित अनुभव तथा रियल स्टेट क्षेत्रका लगानीकर्ता पूर्णलाल श्रेष्ठ रहेका छन्। यस्तै समितिमा बलराम खतिवडा, प्रमोद खड्का, दिपकलाल अमात्य र शेखर कुमार सुवेदी रहेका छन्।

हाल सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट पाँच जना मात्रै रहेका छन् । सर्वसाधारणलाई आईपीओ निष्काशनपछि सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना र एक जना स्वतन्त्र सञ्चालक नियुक्त गर्ने कम्पनीले जनाएको छ।

भावी योजना तथा रणनीति

कम्पनीले आफ्नो व्यवसाय तथा सेवाको वृद्धिको लागि भावी योजना तथा रणनीति बनाएको छ।
कम्पनीको मुख्य उद्देश्य नेपालको जलविद्युत विकासमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्नु रहेको छ।

कम्पनीले आफ्नो उद्देश्य प्राप्तिको लागि हाल सञ्चालित ४.९९३ मेगावाट क्षमताको बुद्धभुमि नेपाल हाइड्रोपावर आयोजनाको अतिरिक्त अन्य सम्भावित आयोजनाहरुको पनि अध्ययन गरिरहेको जनाएको छ।