अङ्ग्रेजी महिनाको सप्ताहन्तमा नेपालयको आरुशालामा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ छोरा यमन श्रेष्ठसँग गीत गाउने भएका छन्। उनी आजभन्दा १८ वर्ष पहिले पनि पलेँटीको मञ्चमा आफ्नो प्रस्तुति दिएका थिए।

उनी आफ्नो पुराणो तथा नयाँ गीतलाई प्रस्तुत गर्ने भएका छन्। उनले उनी आफ्नो पुराणो तथा नयाँ गीतलाई प्रस्तुत गर्ने भएका छन्। उनले गाएका ‘अरबौं मान्छेहरूमा’, ‘खोलावारी खोलापारी’, ‘फुलबुट्टे सारी’, ‘सयथरी बाजा’ लगायत अनेकौँ गीतहरूले लोकप्रियताको शिखर चुमेका छन्।

विशेषगरी हास्यव्यङ्ग्य कलाकारिताबाट आफ्ना सहयात्री हरिवंश आचार्यकासाथ स्थापित बनेका मदन कृष्णको प्रारम्भिक कलाकारिता गायनबाटै सुरु भएको हो। प्रारम्भिक चरणमा उनले रेडियो नेपालका साथै भारतको अल इन्डिया रेडियो र दूरदर्शनमा समेत आफ्ना गीति सिर्जनाहरू प्रस्तुत गरेका थिए।

पछिल्लो चरणमा स्वास्थ्यमा प्रतिकूलता रहँदारहँदै पनि उनी फिल्मी जगतका साथै सांगीतिक जगतमा समेत उत्तिकै सक्रिय रहेका छन्। मदन कृष्णले केही समय अघि रेकर्ड गरेको गीत ‘बिर्सिँदे भन्छौ मायालु’, ‘पहाड भो मलाई’ शीर्षकका गीतहरू पनि श्रोता, दर्शकले उत्तिकै रुचाएका गीतहरूमा पर्दछन्।

यसपालिको थप आकर्षण गायक यमन श्रेष्ठको रहनेछ। उनी आफ्ना अभिभावक मदन कृष्णकै पथप्रदर्शनमा अघि बढिरहेका कलाकार हुन् । यमन हास्यव्यङ्ग्यात्मक अभिनयका साथै गायन र संगीतमा पनि लागिपरेका कलाकार हुन्। उनी व्यङ्ग्यात्मक शैलीका गीतका साथै गम्भीर प्रकृतिका गीत पनि गाउन रुचाउँछन्।

यमनले गाएका गीतहरूमा ‘यो मन बदल्न चाहन्न’, ‘जिन्दगीमा सायद मैले’, ‘नौलो बस्ती देखे जहाँ’, ‘मान्छेले किन मान्छेलाई मार्छ’ लगायत अनेकौँ गीतहरू रहेका छन्। यमन आफूले गाउने गीतहरूका अधिकांश शब्दहरूमा आफै धुन भर्ने गर्दछन्।

पलेँटी टिमसँग अभ्यासरत मदनकृष्ण विगतको सम्झना गर्दै भन्छन्- ‘१८ वर्ष पहिले पनि पलेँटीमा गीत गाएको थिएँ। खुब रमाइलो लागेको थियो। यसपालि त छोरालाई पनि साथमा लिएर आएको छु। झन् रमाइलो हुनेछ भन्ने आशा छ। श्रोता, दर्शकले त सधैँ नै मन पराइरहनु भएकै छ। यसपाली झन् मन पराउनु हुनेछ भन्नेमा ढुक्क छु।’

आफ्ना बाको प्रतिक्रिया सुनेर मुस्काइरहेका छोरा यमनको प्रतिक्रिया थियो – ‘पलेँटीको रिहर्सल त यति रमाइलो छ; कार्यक्रम त झन रमाइलो हुन्छ नै हुन्छ ।’ सधैँ हाँस्न रुचाउने उनी हाँस्दै प्रतिक्रिया व्यक्त गर्छन्।

पलेँटी कार्यक्रम यही जुलाई महिनाको ३१ तारिख शुक्रबार र अगस्ट महिनाको १ तारिख शनिबारका दिन आयोजना हुनेछ।कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा हुने यस कार्यक्रमलाई घरमै बसेर हेर्न सकिन्छ। अनलाइनमार्फत लाइभ हेर्न सकिने यो कार्यक्रमलाई पलेँटीको वेबसाइटमा गएर लिङ्क बुक गर्नुपर्ने हुन्छ।