सुनसरी जिल्लाका विभिन्न स्थानमा मंगलबार राति ९ बजेदेखि लागू हुने गरी अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको छ।
जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा क बमोजिम सो आदेश जारी गरेका हुन्। अर्को सूचना जारी नभएसम्मका लागि तोकिएका क्षेत्रहरूमा मानिसहरूलाई आवतजावत गर्न रोक लगाइएको छ।
प्रमुख जिल्ला अधिकारी अर्यालद्वारा जारी आदेश अनुसार निषेधित क्षेत्रभित्र कुनै पनि किसिमको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पाइने छैन। यदि कसैले यो नियम उल्लंघन गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने चेतावनी प्रशासनले दिएको छ।
यो कर्फ्यू आदेश इटहरी उपमहानगरपालिकाका वडा नं. १६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको २०० मिटर दायाँबायाँ क्षेत्र र रामधुनी नगरपालिकाका वडा नं. १ र ५ अन्तर्गत महेन्द्र राजमार्गको २०० मिटर दायाँबायाँ क्षेत्रमा लागु हुनेछ।
यसैगरी इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवांगज गाउँपालिका, हरिनगर गाउँपालिका र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा पनि कर्फ्यू आदेश जारी गरिएको छ।


प्रतिक्रिया