राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बसिरहेको छ। बिहान ११ बजेका लागि तय गरिएको बैठक सर्वदलीय बैठकलगायतका कारण केही समय पछाडि सारिएको थियो।

बैठक प्रारम्भ हुनुअघि पार्टी सभापति रवि लामिछानेले हालै चयन भएका केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा पार्टीको पहिलो महाधिवेशनको समग्र समीक्षा, विभिन्न कार्यविधिको निर्माण तथा संशोधन, साङ्गठनिक व्यवस्थापन र मनोनयनका विषयमा छलफल हुनेछ।

यस्तै, आगामी राजनीतिक अभियान, संगठन विस्तारका कार्यक्रम तथा समसामयिक विषयहरूबारे पनि केन्द्रीय समितिमा विस्तृत छलफल हुने जनाइएको छ। बैठकबाट संगठन सुदृढीकरणसँग सम्बन्धित केही महत्वपूर्ण निर्णयसमेत हुन सक्ने अपेक्षा गरिएको छ।