काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा चहल–पहल बढेको छ । बिहान ८ नबज्दै कांग्रेस नेताहरुको भिडभाड सुरु भाइहाल्छ ।

आज–भोलि धुम्बाराही धाउनेमा केन्द्रीयदेखि स्थानीय तहसम्मका नेताहरु देखिन्छन् । उनीहरु आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि टिकट माग्न देउवाको दैलो ढक्ढक्याउन पुगेको पाइन्छ । निर्वाचनको मिति नजिकिएसँगै नेताहरुको भिड पनि बढ्न थालेको हो ।
आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ । कोशी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुँदैछ ।
२०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि गोला प्रथाबाट तय गरिएको थियो । गोलाप्रथामा त्यतिबेला ६ वर्ष अवधि पाएका सदस्यहरूको समय आगामी फागुन २० मा सकिन लागेको हो ।
राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुनु एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार सरकारले माघ ११ गतेका लागि निर्वाचनको मिति घोषणा गरेको छ ।
पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखिएको छ । त्यसैले चुनाव हारेका शीर्ष नेता र गठबन्धनका कारण टिकट नपाएकाहरुको ताँती राष्ट्रिय सभाको टिकटका लागि छ ।
कांग्रेस कार्यालयका एक सचिवका अनुसार गठबन्धनका कारण वडाध्यक्षको टिकट नपाएकाहरु पनि राष्ट्रिय सभा उम्मेदवारका लागि आकांक्षी छन् । ती सचिवले भने, ‘हिजो मलाई मधेसका एक जनाको फोन आयो । गत निर्वाचनमा गठबन्धनका कारण वडाध्यक्षको टिकट पाइनँ, मलाई राष्ट्रियसभा सदस्यका लागि सभापतिसँग भेटाइदिनु प¥यो भनिराख्नु भएको थियो ।’
फोन गरेका व्यक्तिलाई बुधबार सभापति देउवासँग भेटाइदिने बचन सचिवले दिएका छन् । यसले पनि राष्ट्रिय सभा टिकटका लागि धुम्बाराही धाउनेको भिड कति छ भन्ने संकेत गर्छ ।
राष्ट्रिय सभा टिकटका लागि आफ्नो निवासमा पुग्ने नेताहरुलाई देउवाको रेडिमेड जवाफ छ– ‘म छलफल गर्दैछु ।’ मंगलबार देउवालाई भेटेर फर्किएका एक नेताका अनुसार दिनहुँ राष्ट्रियसभा टिकट माग्न नेता–कार्यकर्ता आउने गरे पनि देउवाबाट कसैले प्रस्ट जवाफ नै पाउँदैनन् । ती नेताले भने, ‘राष्ट्रियसभा निर्वाचनमा मलाई टिकट दिनुप-यो भन्दा छलफल गर्दैछु भन्नुभयो । उहाँ (देउवा)ले टिकटका लागि भेट्न पुगेका अरुसँग के कुरा भयो भनी सोध्दा छलफल गर्दैछु भन्नु भएको छ रे ।’
२०७९ को स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन र पार्टीभित्र मिलाउँदा धेरैलाई देउवाले राष्ट्रिय सभा सदस्यमा बचन दिएका थिए । राष्ट्रिय सभा सदस्यमा सयौँ जनालाई बचन दिएकाले देउवामाथि अहिले दबाब छ ।
राष्ट्रियसभा निर्वाचनमा गठबन्धनबिच चुनावी तालमेल हुँदा जित निश्चित देखेपछि नेताहरु टिकटका लागि चर्को लबिङमा लागेको देखिन्छ । प्रदेशका ५ सय ५० सांसद र ७ सय ५३ पालिकाका प्रमुख तथा उपप्रमुखको मतभारका आधारमा राष्ट्रिय सभा सदस्य चुनिन्छन् । २०७८ को जनगणनाको प्रतिवेदनका आधारमा निर्वाचन आयोगले प्रदेश सांसदको ५३ र पालिकाका प्रमुख—उपप्रमुखको १९ मतभार कायम गरेको छ ।
राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनमा सम्बद्ध कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबिचमा मात्रै साझा उम्मेदवार तय भएमा पनि गठबन्धनको पक्षमा ५१ प्रतिशतभन्दा बढी मत देखिन्छ । अहिले सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, जनमत, नागरिक उन्मुक्ति र लोसपा, जनमोर्चा लगायतका दल सहभागी छन् ।
राष्ट्रिय सभामा निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबिचमा मात्रै भागबन्डा गर्ने तयारी छ । सत्ता गठबन्धनका जनमत, नागरिक उन्मुक्ति र लोसपले पनि एक–एक सिट दाबी गरेका छन् । कांग्रेस, माओवादी, समाजवादी र जसपाका नेताहरुले चार दलबिच मात्रै सिट भागबन्डा गर्ने गरी छलफल अघि बढाएको देखिन्छ । (रातोपाटी बाट साभार)

प्रतिक्रिया