झापाको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाबिच नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउनेसम्बन्धी बिहीबार सम्झौता भएको छ।
सम्झौताअनुसार अर्जुनधारा नगरपालिकाभित्र स्थायी बसोबास गर्ने नेपाली नागरिकलाई स्वास्थ्य उपचारका क्रममा आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराइनेछ। रगतको सेवा शुल्कबापत प्रतिपिन्ट रु एक हजार एक सय नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई त्रैमासिक रूपमा भुक्तानी गर्नेछ।
सम्झौतापत्रमा अर्जुनधारा नगरपालिकाका तर्फबाट नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ र प्रमुख प्रशासकीय अधिकृत हिमराज सिँहाइ तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका तर्फबाट सभापति लोकराज ढकाल र शाखा अधिकृत हरिशरण खड्काले हस्ताक्षर गरेका थिए।
हस्ताक्षरपछि नगरप्रमुख तामाङले उपचारका क्रममा आर्थिक अभावका कारण कुनै पनि नगरवासी रगतबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको बताए। ‘रगत अभावका कारण कुनै पनि नागरिकको उपचार प्रभावित हुनुहुँदैन भन्ने नगरपालिकाको मान्यता हो’, उनले भने, ‘यस सम्झौताले नगरवासीलाई सहज, छिटो र निःशुल्क रूपमा रगत उपलब्ध गराउन सहयोग पुग्ने विश्वास लिएका छौँ।’
सेवा लिन बिरामीले चिकित्सकले सिफारिस गरेको रगत मागको पुर्जी, अर्जुनधारा नगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाण खुल्ने कागजात तथा रगत बुझेको रसिद पेस गर्नुपर्नेछ। सम्झौताअनुसार एउटै बिरामीलाई बढीमा पाँच पोकासम्म रगतको सेवा शुल्क नगरपालिकाले व्यहोर्नेछ। रासस

प्रतिक्रिया