बर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोले प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले बिहान ६:०० बजेसम्म दिएको जानकारी अनुसार विभिन्न जिल्लाका सडकमा सवारी आवतजावत बन्द गरिएको छ।

बिपी राजमार्ग अन्तर्गत काभ्रे र सिन्धुलीको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडक खण्डमा सम्भावित बाढीलाई ध्यानमा राख्दै बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सम्पूर्ण सवारीसाधन चलाउन रोक लगाइएको छ। बिहान ४:०० बजेदेखि बेलुका ६:०० बजेसम्म भने सवारीसाधन सुचारु हुनेछन्। त्यस्तै, काभ्रेको रोशी गाउँपालिका-९ पिन्थली र वडा नं. ८ गिम्दिवेशीमा लेदोसहितको पहिरो आएका कारण पनि बिपी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।

मकवानपुरको कान्ति लोकपथमा बर्षातको कारण रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ। बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म अर्को सूचना नभएसम्मका लागि सबै प्रकारका सवारीसाधन आवतजावतमा रोक लगाइएको छ। यता इलामको मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका-९ राजदुवालीमा बाटो हिलो भएका कारण सवारीसाधन चल्न सकेका छैनन् र सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ। यद्यपि, उक्त स्थानमा वैकल्पिक बाटो भने उपलब्ध छ।

सिन्धुपाल्चोकको अरनिको राजमार्ग पनि विभिन्न स्थानमा बन्द भएको छ। भोटेकोशी गाउँपालिका-४ जिरोकिलोमा सडकमाथिबाट पहिरो खसेको छ भने वडा नं. २ कोदारीस्थित ईकु पहिरोमा ढुंगा र माटोसहित लेदो खसेका कारण राजमार्ग पूर्ण रूपमा बन्द छ। त्यसैगरी, दोलखाको लामासाघु-रामेछाप राजमार्ग अन्तर्गत तामाकोशी गाउँपालिका-५ किर्नेटारमा तामाकोशी खोलाको पानीको बहाव बढेर सडक कटान गरेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो, पछि खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको कार्यालय परिसरबाट वैकल्पिक बाटो खुलाइएको छ।

रसुवाको पासाङ ल्हामु सडक खण्डमा उत्तरगया गाउँपालिका-५ खाल्टेस्थित त्रिशुली मैलुङ स्याफ्रुबेँसी जाने कच्ची सडकमा त्रिशुली नदीले सडक मुनिबाट कटान गरेपछि सडक पूर्ण रूपमा बन्द भएको छ। मुगुको नाग्म-गमगडी सडकमा छायानाथ रारा नगरपालिका-७ झ्यारी खोलामा माथिबाट ढुंगासहितको पहिरो खसेका कारण बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।

रोल्पाको शहिद राजमार्ग अन्तर्गत परिवर्तन गाउँपालिका-१ खोलावाङस्थित घोराही थवाङ शहिद राजमार्गमा माथिबाट सुख्खा पहिरो खसेर बाटो अवरुद्ध भएको छ। पाल्पाको सिद्धार्थ राजमार्गमा तिनाउ गाउँपालिका-३ सिद्धबाबा नजिकै माथिबाट लेदो माटो र ढुंगासहितको पहिरो खस्दा बाटो पूर्ण रूपमा बन्द भएको छ। म्याग्दीको बेनी-जोमसोम सडकमा रघुगंगा गाउँपालिका-२ बैसरी र अन्नपूर्ण गाउँपालिका-३ सुकेबगरमा लेदो माटोसहित पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।