नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय गरेको छ।
बिहीबार बिहान बसेको संसदीय दलको बैठकले कांग्रेससँगको राजनीतिक सहकार्यलाई निरन्तरता दिँदै अविश्वास प्रस्ताव पारित गराउने रणनीतिसहित प्रस्तावको पक्षमा उभिने निर्णय गरेको हो।
दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीका अनुसार बैठकले असार ३२ गते प्रदेशसभा सचिवालयमा दर्ता गरिएको अविश्वास प्रस्तावलाई सफल बनाउन सबै सांसदलाई एकमत भएर भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।
उनले दलका सांसदहरूलाई आगामी प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भई पार्टीको निर्णयअनुसार मतदान गर्न निर्देशनसमेत दिइएको जानकारी दिए।
प्रमुख सचेतक जिसीले वर्तमान सरकार जनअपेक्षा अनुसार प्रभावकारी ढंगले काम गर्न नसकेको, प्रदेशको विकास निर्माण, सुशासन र सेवा प्रवाहमा अपेक्षित सुधार ल्याउन असफल भएको निष्कर्षका आधारमा सरकारविरुद्ध अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरिएको बताए।
उनले कांग्रेससँगको सहकार्य आगामी राजनीतिक प्रक्रियामा पनि कायम रहने स्पष्ट पारे।
असार ३२ गते नेपाली कांग्रेस र नेकपाका प्रदेशसभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो।

प्रतिक्रिया