सुनसरीको देवानगन्ज वडा नं. ३ कप्तानगन्जमा भएको हिंसात्मक घटनापछि सरकार र पीडित परिवारबिच बिहीबार मध्यरातमा सहमति भएको छ।

गृहमन्त्री सुधन गुरुङ् उपस्थित भएर पीडित परिवारसँग सहमति गरेसँगै असहज परिस्थिति सहज भयो। योसँगै स्थानीयस्तरमा कायम त्रास र अविश्वास हटाउन सबै सरोकारवालाको सक्रिय भूमिका पनि आवश्यक देखिएको छ। न्याय सुनिश्चित गर्दै दुवै समुदायलाई निर्धक्क र सुरक्षित भएर बस्ने वातावरण बनाउन सबै जुट्नुपर्ने देखिएको छ।

सरकारले मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई सहिद घोषणा प्रक्रिया अघि बढाउने र दुवै परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउनेछ। साथै, परिवारलाई राहत उपलब्ध गराउने, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने तथा परिवारका एक-एक जना सदस्यलाई रोजगारीको अवसर दिने पनि सहमति भएको छ। दुवै मृतकको अन्त्येष्टि शुक्रबार दिउँसो २ बजे गरिनेछ।

यो पनि पढ्नुहोस्

देवानगञ्ज घटना : पीडित परिवार र गृह मन्त्रालयबिच सात बुँदे सहमति (पत्रसहित)

तर, घटनाबाट प्रभावित समुदायमा न्यायको अनुभूति र सुरक्षाको भरोसा कायम गर्न सहमतिको प्रभावकारी कार्यान्वयन महत्वपूर्ण हुने भएकाले गर्दा यसतर्फ पनि सचेत हुनैपर्छ।

घटनापछि कप्तानगन्ज र आसपासका क्षेत्रमा ठूलो संख्यामा सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। सुरक्षा उपस्थिति बढाइए पनि दुवै समुदायका बासिन्दामा रहेको मनोवैज्ञानिक त्रास अझै हट्न सकेको छैन। सम्भावित अप्रिय घटना रोक्न सुरक्षा निकायको सतर्कतासँगै समुदायस्तरमा संवाद र विश्वास निर्माणको प्रक्रिया अघि बढाउनुपर्ने देखिन्छ।

स्थानीय बासिन्दाले घटनामा संलग्न दोषी जुनसुकै पक्षका भए पनि कानुनी कारबाही हुनुपर्ने बताएका छन्। उनीहरूको बुझाइमा निष्पक्ष अनुसन्धान र दोषीमाथिको कारबाहीले मात्र भविष्यमा यस्ता घटनाको पुनरावृत्ति रोक्न सहयोग पुग्नेछ।

पूर्वसांसद मुगालाल मेहताले प्रहरीको कमजोरीका कारण अवस्था जटिल बनेको भन्दै दोषीमाथि कारबाही भएपछि मात्र दुवै समुदायबिच विश्वासको वातावरण बन्ने बताए। उनका अनुसार न्याय सुनिश्चित भएपछि स्थानीयस्तरमा दुवै पक्षबिच सहकार्य गरेर पुरानै सामाजिक सम्बन्ध कायम गर्न सकिन्छ।

देवानगन्ज गाउँपालिका अध्यक्ष वेचन मेहताले सीमित व्यक्तिका कारण भएको घटनालाई आधार बनाएर दुई समुदायबिचको सम्बन्ध बिग्रिएकाले गर्दा अब दोषी पहिचान गरी कारबाही गर्नुपर्ने धारणा राखेका छन्।

घटनाको पृष्ठभूमिमा रहेको झण्डा विवाद समयमै समाधान हुन नसक्दा विवाद बढ्दै गएको स्थानीयको भनाइ छ। त्यसपछि बोलबम जाने क्रममा मन्दिर क्षेत्रमा डिजे बजाएको विषयमा भएको विवादले हिंसात्मक रूप लियो। स्थानीयका अनुसार प्रारम्भिक विवादमै प्रभावकारी समन्वय र संवाद भएको भए अवस्था यो तहसम्म पुग्ने थिएन।

अबको अवस्थामा वडा, गाउँपालिका, सुरक्षा निकाय, राजनीतिक दल, सामाजिक अगुवा र दुवै समुदायका जिम्मेवार व्यक्तिहरूको भूमिका महत्वपूर्ण हुनेछ। विवादलाई थप उत्तेजित बनाउने गतिविधि रोक्नु, गलत सूचना नियन्त्रण गर्नु र दुवै समुदायसँग निरन्तर संवाद गर्नु आवश्यक देखिन्छ।

सुरक्षा निकायले निष्पक्ष अनुसन्धान र शान्ति सुरक्षाको प्रत्याभूति दिनुपर्नेछ भने स्थानीय नेतृत्वले समुदायबिच विश्वासको वातावरण बनाउन पहल गर्नुपर्नेछ। त्यसैगरी दुवै समुदायका अगुवाले संयमित भूमिका निर्वाह गर्दै दोषी र निर्दोषबिच फरक छुट्याउन सहयोग गर्नुपर्ने देखिन्छ।