काठमाडौं, लैनचौर — सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसंग नेपालका लागि फ्रान्सकी महामहिम राजदूत भर्जिनी कोर्टेभलले बुधबार उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ ।
भेटका क्रममा शुभकामना आदान–प्रदानसँगै नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध, साझेदारीका विविध आयामहरू तथा भावी सहकार्यको सम्भावनाहरूबारे महत्वपूर्ण छलफल भयो ।
उपराष्ट्रपति यादवले सन् १९४९ मा दुवै मुलुकबीच स्थापना भएको कूटनीतिक सम्बन्ध सुमधुर रहँदै आएको स्मरण गर्दै भन्नुभयो, ‘हाम्रो मित्रवत् सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित छन।’ उहाँले फ्रान्सको स्वतन्त्रता, समानता र भ्रातृत्वको आधारभूत मूल्यहरूको प्रशंसा गर्दै ती मूल्यहरूले नेपालका राजनीतिक आन्दोलन तथा संघर्षहरूमा उत्प्रेरकको भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो ।
नेपालको पूर्वाधार विकासमा युरोपेली संघमार्फत फ्रान्सले दिएको दीर्घकालीन सहयोग प्रति आभार व्यक्त गर्दै उपराष्ट्रपतिले आगामी दिनहरूमा दुई देशबीचको सम्बन्ध जनताको हितमा थप प्रगाढ हुँदै जाने विश्वास पनि व्यक्त गर्नुभयो ।
उपराष्ट्रपति यादवले फ्रान्सको आगामी राष्ट्रिय दिवसको अवसरमा फ्रान्सेली राष्ट्रपति तथा जनताप्रति सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभयो ।
नेपालका लागि फ्रान्सका महामहिम राजदूत भर्जिनी कोर्टेभलले नेपाल र फ्रान्सबीचको सम्बन्ध भ्रातृत्व प्रेम, साझा लक्ष्य र धारणाहरुमा आधारित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ मेरो कार्यकालमा हाम्रा दुई देशबीचको सुमधुर सम्बन्धलाई थप उचाईमा पुर्याउने प्रयास रहने छ ।’
मिति २०८२ असार २५ गते बुधबार ।