देशभरिका ६ सय ५७ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने निर्णय भएको झन्डै ६ वर्ष पुग्न लागेको छ। दुई वर्षमा निर्माण गरेर सम्पन्न गरिसक्ने भनिएका अधिकांश अस्पतालको निर्माण कार्य सम्पन्न हुन सकेको छैन। निर्माण सम्पन्न भएका अस्पतालमा पनि आवश्यक जनशक्ति, उपकरणको अभावले सञ्चालनमा चुनौती देखिएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ सालमा स्थानीय तहमा भुगोल र जनसंख्याका आधारमा ५, १० र १५ शड्ढयाका आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो। ३९६ अस्पतालको एकैसाथ शिलान्यास गरिएको थियो। पछि थप २६१ स्थानीय तहमा अस्पताल निर्माण गर्ने निर्णय गरिएको थियो।
दुई वर्षमै निर्माण कार्य सम्पन्न गरेर सर्वसधारणलाई सेवा दिने उद्देश्य राखिएको भए पनि केहीमा जग्गाको समस्या, धेरैजसोमा निर्माण व्यवसायीको लापरबाहीले अस्पतालको भवन निर्माण कार्य सम्पन्न हुन सकेको छैन भने केही निर्माण सम्पन्न भएका ठाउँमा पनि आवश्यक उपकरण र जनशक्तिको व्यवस्थापन गर्न नसकेर सेवा सुचारु हुन सकेको छैन।
‘आधारभूत अस्पतालको भवन निर्माण अलपत्र छ, अहिलेसम्म जग पनि पूरा भएको छैन,’ कैलाली जिल्लाको गौरीगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वरी भुसालले भने, ‘ठेकेदारको लापरबाहीले यतिका वर्षसम्म भवन बनाउने काम नै पुरा हुन नसकेको हो।’
१५ शड्ढयाको अस्पताल निर्माणका लागि भवन बनाउन आवासमेत भत्काएर निर्माण कार्य सुरु गरिएको उनले बताए। निर्माण व्यवसायीको लापरबाहीले भवन निर्माण कार्य अलपत्र परेकाले यहाँ आधारभूत अस्पताल सेवा सञ्चालन कहिले हुने भन्ने कुनै टुंगो छैन।
कैलालीको भजनी नगरपालिका–१ मा पनि प्राथमिक स्वास्थ्य केन्द्रमा आधारभूत अस्पताल निर्माण गर्ने भनिएकोमा जग्गाको भोगाधिकार नपाउँदा निर्माण कार्य नै सुरु हुन सकेको छैन। नगरपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश थारूले आधारभूत अस्पताल निर्माणका लागि डिपिआरसमेत तयार बनाएर मन्त्रालयमा पठाइए पनि जग्गा उपलब्ध नहुँदा निर्माण कार्य सुरु नै हुन नसकेको बताएका छन्। ‘डिपिआर बनाएर पठायौं, वनबाट जग्गाको भोगाधिकार नपाइएकाले बजेट नै नआएर निर्माण कार्य सुरु भएन,’ उनले भने।
यसैगरी कैलालीको जोशीपुर गाउँपालिकामा १५ शड्ढयाको आधारभूत अस्पताल निर्माण गर्ने भनिएकोमा अहिलेसम्म शिलान्यास पनि हुन सकेको छैन। जग्गाको भागाधिकार केही महिनाअघि मात्र पाइएकाले अहिलेसम्म शिलान्यास पनि हुन नसकेको स्वास्थ्य शाखा प्रमुख नृपराज डगौराले बताए। ‘तीनचार महिनाअघि मात्र जग्गाको भोगाधिकार प्राप्त भएको छ,’ उनले भने, ‘अहिलेसम्म अस्पतालको भवन निर्माणको शिलान्यास पनि हुन सकेको छैन।’
कैलालीको लम्की चुहा नगरपालिका–१० मा आधारभुत अस्पतालको भवनको निर्माण कार्य भइरहेको छ। नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले भवन निर्माणको कार्य सम्पन्न हुन बाँकी रहेको बताइन्।
लम्की चुहा–२ भल्कास्थित श्वास्थ्य चौकीमा १५ शड्ढयाको अस्पताल सञ्चालन गरेर सेवा सुरु गरेकोमा अहिले त्यसलाई प्रदेश सरकारले प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ।
कैलाली जिल्लाका दुई पालिकामा मात्र आधारभूत अस्पताल भवन निर्माण कार्य सम्पन्न भएको छ भने तीमध्ये एउटा मात्र सञ्चालनमा छ। कैलारी गाउँपालिका–५ मा १९ करोड पाँच लाखको लागतमा १५ शड्ढयाको अस्पतालका लागि भवन निर्माण कार्य सम्पन्न भइसकेको स्वास्थ्य शाखा प्रमुख नरेश चौधरीले बताएका छन्। गत असारमै भवन निर्माण सम्पन्न भए पनि उपकरण, बेड, ल्याब सेटअप, जनशक्ति व्यवस्थापनलगायत कारण अस्पताल सञ्चालन अझै हुन नसकेको उनले बताए। ‘खोक्रो भवन मात्र भएर भएन, आवश्यक उपकरण, जनशक्ति सबै चाहियो,’ उनले भने, ‘सबै व्यवस्थान गरेर सञ्चालन गर्ने तयारी गरिरहेका छौं, पर्याप्त बजेट नहुँदा अस्पताल सुचारु गर्न भने धेरै चुनौती छ।’
जनशक्तिको अभाव रहेको पनि उनले बताए। दुई विशेषज्ञ चिकित्सक र दुई मेडिकल अफिसर सहित ३२ जनाको दरबन्दी रहे पनि चिकित्सकलगायत जनशक्ति अभाव रहेको उनले बताए।
कैलालीको बर्दगोरिया गाउँपालिकामा भने भवन निर्माण सम्पन्न भएर अस्पताल सञ्चालन भइरहेको छ। नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मीन धामीले देशभरिमा सबैभन्दा पहिलो आधारभूत अस्पताल सञ्चालन बर्दगोरियामा भएको बताए।
२०८० देखि १५ शड्ढयाको अस्पताल सञ्चालन गरिएको उनले जानकारी दिए। आवश्यक दरबन्दीबमोजिम जनशक्ति व्यवस्थापन गर्न भने निकै समस्या भएको उनले बताए। आवश्यक दरबन्दीअनुसारको जनशक्तिको अभाव, आवश्यक उपकरणको अभाव र अन्य व्यवस्थापन खर्च जुटाउनुपर्नेजस्ता कारणले अस्पताल सञ्चालन गर्न गाह्रो रहेको उनले बताए।
स्वास्थ्य तथा खाद्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक तथा सूचना अधिकारी डा. भक्तबहादुर केसीले सुरुमा एकै पटक शिलान्यास गरिएको ३९६ र पछि थप निर्णय गरिएको २६१ मध्ये अहिलेसम्म १०९ आधारभूत अस्पतालको निर्माण कार्य सम्पन्न भएर हस्तान्तरण गरिसकिएको बताए। तीमध्ये १०१ अस्पताल सञ्चालनमा आएको उनको भनाइ छ।

प्रतिक्रिया