अमेरिका र इरानबिच विगत दुई हप्तादेखि जारी सैन्य द्वन्द्वमा केही राहत महसुस गर्दै दुवै देशले लगातार दोस्रो दिन पनि आक्रमण स्थगित गरेका छन्। लगातारको बमबारी अभियान रोकिएपछि विश्वव्यापी तेलको मूल्यमा ५ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।

उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य भण्डार घट्दै गएको र गोलाबारुदको अभाव भएको भन्ने रिपोर्टलाई ठाडै अस्वीकार गरेका छन्। वाल स्ट्रिट जर्नललाई जानकारी दिँदै उनले राष्ट्रको हतियार आपूर्ति वर्तमान आवश्यकताभन्दा धेरै बढी रहेको बताएका हुन्।

संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले फक्स न्युजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले कूटनीतिक वार्तालाई प्रभावकारी बनाउन अनिश्चित समयका लागि आक्रमण रोक्ने निर्णय गरेको कुरा पुष्टि गरे। ओमानी प्रतिनिधिमण्डलको तेहरान आगमनले पनि यो बम विष्फोट रोक्ने अमेरिकी निर्णयमा महत्त्वपूर्ण भूमिका खेलेको मिडिया रिपोर्टहरूमा उल्लेख छ।

इरानी सेनाका प्रवक्ता मोहम्मद अक्रामिनियाले भने, ‘हाम्रो रणनीति मूलतः प्रतिशोधात्मक रहेको छ। हामीले हाम्रो प्रतिशोधात्मक कारबाही पनि रोकेका छौं।’ यद्यपि, उनले अमेरिकाले आक्रमण जारी राखेमा द्वन्द्व अझ फराकिलो हुन सक्ने चेतावनी दिएका छन्।

पाकिस्तान, कतार र ओमानलगायतका मध्यस्थकर्ता देशहरूले अमेरिका र इरानबिचको तनाव कम गराउन निरन्तर संवाद अघि बढाइरहेका छन्। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले तेहरान र वासिङ्टनले मध्यस्थकर्तामार्फत सन्देश आदानप्रदान गरिरहेको बताए। यद्यपि, विगतमा भएका कूटनीतिक प्रयासहरू धोकामा परिणत भएको कारण इरानी पक्ष अझै पनि पूर्ण रूपमा विश्वस्त भइसकेको छैन।

रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलमार्गमा तनाव अझै कायम छ। इरानी अधिकारीहरूले तोकिएको लेन पालना नगरी पार गर्न खोज्दा एउटा तेल ट्यांकर नौसेना माइनमा ठोक्किएर विस्फोट भएको पुष्टि गरेका छन्।

इरानले जलमार्ग पार गर्न चाहने सबै जहाजहरूले पूर्ण समन्वय गर्नुपर्ने र अन्यथा सुरक्षाको ग्यारेन्टी दिन नसकिने चेतावनी दिएको छ। अर्कोतर्फ, अमेरिकी सेनाको सेन्ट्रल कमान्डले नौसैनिक नाकाबन्दी पूर्ण रूपमा प्रभावकारी रहने जनाएको छ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले क्यास्पियन सागरमा इरानी व्यापारिक जहाजमाथि भएको आक्रमण ‘अनुत्तर रहन नसक्ने’ चेतावनी दिएका छन्। उनले उक्त आक्रमणमा युक्रेनको संलग्नता रहेको र चालक दलका सदस्यको मृत्यु भएको आरोप लगाएका छन्।