सप्तरी जिल्लाको राजविराजमा राष्ट्रिय एकता अभियानको महत्वपूर्ण जिल्ला सम्मेलन सम्पन्न भएको छ । अभियान सो सम्मेलनले संघीय हिन्दू गणतन्त्रको स्थापना, चिनियाँ विस्तारवाद र इस्लामिक अतिवाद विरुद्ध चेतना जगाउने उदेश्यले आयोजना गरेको बताएको छ।

सम्मेलन पार्थव सरकारको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिको रुपमा राष्ट्रिय अध्यक्ष विनय यादवको उपस्थिति रहेको थियो । अन्य अतिथिहरूमा अभियानका वरिष्ठ नेता बीपी यादव, नेपाली काङ्ग्रेसका जिल्ला उपाध्यक्ष रामकुमार यादव, पूर्व उपमेयर मीना चौधरी, कथाकार पण्डित रामकुमार शास्त्री, श्रीमती सर्वेश्वरी झा, हिन्दू नेता अरविन्द साह र डा चिरञ्जीवीलाल देवलगायतको उपस्थिति थियो।

नेपालमा हिन्दू गणतन्त्र स्थापना गर्न अभियानले सशक्त आन्दोलन गरिरहेको छ। सम्मेलनमा हिन्दू धर्मको महत्व र नेपालको राष्ट्रिय पहिचानमा यसको भूमिकाबारे प्रकाश पारिएको थियो ।

त्यस्तै, अभियानले चीनको बढ्दो क्षेत्रीय अतिक्रमण र इस्लामिक कट्टरपन्थी विरुद्ध निरन्तर आवाज उठाइरहेको छ। सम्मेलनमा यस्ता खतराका बारेमा जनचेतना जगाउने र त्यसको सामना गर्ने रणनीति बनाउने विषयमा छलफल भएको थियो ।

सम्मेलनमा पार्थव सरकारको अध्यक्षतामा ११ सदस्यीय जिल्ला तदर्थ समिति पनि गठन गरिएको छ । समितिको मुख्य उद्देश्य सप्तरी जिल्लामा अभियानको आदर्शको प्रचारप्रसार र सङ्गठनलाई बलियो बनाउनु हुनेछ ।

सम्मेलनको समापनमा अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवले भने, “अभियान नेपालको अखण्डता, संस्कृति र स्वाधीनताको रक्षा गर्न प्रतिबद्ध संस्था हो, हामी समृद्ध र शक्तिशाली हिन्दू राष्ट्र निर्माण गर्न अथक प्रयास गरिरहेका छौं, र हामी गर्नेछौं। कुनै पनि विदेशी शक्तिलाई हाम्रो देश कमजोर हुन नदिने ।”