(यादव शर्मा )
श्रावण २५, काठमाडौं-  हिमालयन एयरलाइन्सले  कुटनैतिक चार्टर उडान सुरु गरेको छ । परराष्ट्र मन्त्रालयको अनुरोधमा हिमालय एयरलाइन्सले अगस्ट ०९, २०२२ मा चीनको छिङदाओमा विशेष कूटनीतिक चार्टर उडान सञ्चालन गर्न पाएको छ ।

उडान मंगलबार राति सफलतापूर्वक उडेको थियो र आज बिहान क्विङदाओमा अवतरण गरेको हिमालयन एरलाइनसले एक बिज्ञप्ति मार्फत जानकारी गराएको छ। उक्त चार्टर उडानबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का आज बिहान छिमेकी मुलुक चीनको छिङ्ताओ सहर पुगेका छन् । तीन दिने चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. खड्का मङ्गलवार राति चीन प्रस्थान गरेका थिए

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा मन्त्री खड्का चीन पुगेका हुन् । खड्काले चिनियाँ समकक्षी वाङ यीसँग बुधबार चीनको सान्तोङ प्रान्तको छिताओमा भेट्ने कार्यक्रम छ।

मन्त्री खड्काको साथमा ११ सदस्यीय प्रतिनिधि टोली छ । खड्काको टोलीमा परराष्ट्र सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, गृह र अर्थ मन्त्रालयका सहसचिवलगायतका अधिकारी सहभागी छन् ।

खड्काको भ्रमण ‘दुई मुलुकबीच विश्वासको वातावरण बढाउन’ केन्द्रित रहने छ । खड्का २६ गते स्वदेश फर्किनेछन् ।