चैत्र २, काठमाडौं – सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक १९.६५ अंकले घटर २६ सय ३१.३२ अंकमा झरेको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०२ अंकले घटेको छ । बुधबार कारोबारमा आएका २३१ कम्पनीको ४९ लाख ६७ हजार ४७१ कित्ता शेयर २ अर्ब ५७ करोड ४ लाख १ हजार १८८ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबारको तुलनामा बुधबार कारोबार रकम समेत घटेको हाे ।

नेप्सेका १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी २.०९ प्रतिशत बढेको छ । निर्जीवन बीमा उपसमूह ०.६४ प्रतिशतले बढेको छ । त्यस्तै, अन्य उपसमूहको परिसूचक सबैभन्दा धेरै २.४७ प्रतिशत घटेको छ । त्यस्तै व्यापार, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतले घटेको छ ।

बुधबार नेप्से परिसूचकमा गिरावट आए पनि इमर्जिङ्ग नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, मैलुङखोला जलविद्युत कम्पनी, सोल्टी होटल र राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर मूल्य बढेको छ ।

तर यता, युनाइटेड इदी मार्दीको शेयरमूल्य ५ प्रतिशतले गिरावट आएको छ । कारोबार रकमका आधारमा १६ करोडभन्दा बढीको शेयर कारोबार गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । गरिमा विकास बैंकको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।